‘कुमारी’ मा अभिषेक र आकृतिको नोस्टाल्जिक प्रेम

प्रेम कथानक फिल्म ‘कुमारी’ को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक गरिएको छ।बुधबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच केहर सिं लिम्बुको स्वरमा रहेको उक्त गीत सार्वजनिक गरिएको हो। यसअघि सार्वजनिक भएका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ गीतले पाएको सफलतापछि निर्माण टिमले लोक शैलीको यो नयाँ सिर्जना दर्शकमाझ ल्याएको हो।

‘डोको बुन्ने’ मा सागर लामिछाने मगर र सुमन तामाङका शब्दहरू समेटिएका छन्। सुमन तामाङ र केहर सिं लिम्बुले नै संगीत भरेको यस गीतलाई रिकेश गुरूङले अडियो प्रोडक्सन तथा मिक्सिङ र मास्टरिङ गरेका हुन्। शिशिर खातीको कोरियोग्राफी रहेको यस गीतको भिडिओमा फिल्मका मुख्य कलाकारहरू अभिषेक खड्का र आकृति राजभण्डारी फिचर्ड छन्।

गीतले नवयुवाहरूबीच मौलाएको प्रेम भावलाई सुन्दर ढंगले प्रस्तुत गरेको छ। कार्यक्रममा बोल्दै निर्देशक दिनेश राउतले आफू पुनः आफ्नो प्रिय विधा प्रेमकथामा फर्किएको बताए। उनले ‘डोको बुन्ने’ गीतले फिल्मको मौलिकता र नेपालीपनलाई प्रतिनिधित्व गर्ने धारणा राखे। यस्तै, लेखक विकास सुवेदीले यो गीतले फिल्मको भाव व्यक्त गर्ने र दर्शकलाई प्रेमकथामा समाहित गराउने विश्वास व्यक्त गरे।

कलाकारहरू अभिषेक खड्का र आकृति राजभण्डारीले यस फिल्मबाट डेब्यु गर्न पाउँदा खुसी लागेको बताए।राजभण्डारीले फिल्मको टिम र स्क्रिप्टले तानेपछि आफूले डेब्युको लागि यो फिल्म रोजेको बताइन्। यस्तै, खड्काले फिल्मप्रति आफ्नो आकांक्षा सानैदेखि रहेको र सोही अनुरूप यस फिल्ममा अभिनय गरेको बताए।कार्यकारी निर्माता केदार भुसालले ‘भ्यालेन्टाइन डे’को छेको पारेर रिलिज हुन लागेको फिल्मले सबै उमेर समूहका दर्शकलाई बाँध्ने दाबी गरे।

फिल्म नयाँ अनुहारहरू अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। साथमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, शकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारहरूको पनि अभिनय छ। बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस फिल्मका निर्माता महेन्द्र अधिकारी हुन्। ‘कुमारी’ माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तालिका तय छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*