श्रीलंकाबाट‘महाराजधिराज’शुरु

बुटवल। परिच्छेद सेनको निर्देशनमा बन्न लागेको फिल्म ‘महाराजधिराज’को छायांकन सुरु भएको छ । गत वैशाख २२ गते ललितपुरको बंगलामुखी मन्दिरमा पञ्चेबाजासहित शुभ मुहूर्त गरिएको यस फिल्मको सुनसरीको बराहक्षेत्रस्थित श्रीलंका टापुबाट छायांकन थालिएको हो । फिल्मका प्रस्तुतकर्ता विराज विष्टका अनुसार त्यहाँ करिब एक साता छायांकन हुनेछ ।

७० दिनको छायांकन सेड्युल राखिएको यस फिल्ममा नीर शाह, रमेश उप्रेती, पुष्प खड्का, आर्यन सिग्देल, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डिसी, सुशील सिटौला, हिउँवाला गौतमलगायत ८० भन्दा बढी कलाकारहरूको अभिनय रहनेछ । फिल्मको कथा पुष्पले निर्वाह गर्ने अधिराज पात्रको वरिपरि घुम्ने जनाइएको छ।

छत्रेश्वर म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा निर्देशक सेन स्वयंको लेखन रहेको छ । सेनको यो दोस्रो निर्देशकीय फिल्म हो । सन् २०२२ मा प्रदर्शन भएको फिल्म ‘प्रेमगन्ज’बाट उनले निर्देशकीय यात्रा सुरु गरेका थिए, जुन समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो । उनले २ वर्षको तयारीपछि ‘महाराजधिराज’ बनाउन लागेका हुन् ।

यसपालिको दशैंको फूलपातीमा रिलिज गर्ने लक्ष्य राखिएको यस फिल्ममा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट निर्माताको रूपमा छन् । निर्माण पक्षले फिल्मको कथावस्तुबारे भने जानकारी गराएको छैन । तर, शीर्षकले यो फिल्म पिरियड ड्रामा (कुनै ऐतिहासिक कालखण्डमा आधारित) हुने अनुमान गर्न सकिन्छ । ‘महाराजधिराज’को अर्थ सबैभन्दा ठूलो राजा भन्ने हुन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*