‘भाईरल गोर्खे’मा सौगात शिवको फ्यान

काठमाडौँ — अभिनेता सौगात मल्ल अभिनित फिल्म ‘भाईरल गोर्खे’ दर्शकबीच अहिले चर्चामा छ । अभिनेता मल्लले फिल्ममा अभिनेता शिव श्रेष्ठलाई नक्कल गरेकै कारण पनि यो फिल्म दर्शकबीच चर्चाको विषय बनेको हो ।फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण पक्षले हालै फिल्मको ट्रेलर नै सार्वजनिक गर्‍यो । ट्रेलरमा पनि सौगातलाई त्यस्तो चरित्रका रुपमा देखाइएको छ, जो अभिनेता श्रेष्ठको ठूलै प्रशंसक हुन्छन् । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता सौगातलाई हौसला दिन शिव श्रेष्ठ पनि पुगेका थिए ।

४२ वर्षको फिल्म करिअरमा यसरी आफ्नो अभिनयलाई सौगात मल्लले दुरुस्तै टिपेर अभिनय गरिदिएकोसमेत श्रेष्ठले सुनाए । ‘सौगात भाइले जुन अभिनय गर्नुभयो, आजसम्म मेरो एक्टिङ यसरी कसैले गरेको थिएन । मलाई बडा विश्वास छ, यो फिल्मलाई दर्शकले रुचाइदिनु हुनेछ,’श्रेष्ठले भने। श्रेष्ठले ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मभित्र आफ्नो पनि अभियन रहेको खुलासा गरिदिए ।सामाजिक सञ्जालमा भाइरल बन्न उद्दत एक साधारण पात्रको कथा फिल्ममा समेटिएको छ ।

निगम श्रेष्ठ निर्देशित यो फिल्ममा सौगात र अभिनेत्री सृष्टिको मुख्य अभिनय छ । एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्मित फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पबीको अभिनय छ ।निर्देशक श्रेष्ठले यसअघि ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । अमर महर्जनले खिचेको यो फिल्ममा श्री श्रेष्ठको द्वन्द निर्देशक, बन्दे प्रसाद, रवि चौधरी, भीम विश्वकर्माको सम्पादन छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*