आसिफ प्रत्यक्ष चुनावमा, समानुपातिकबाट फिर्ता

आगामी २१ फागुमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवार बनेका अभिनेता तथा उद्घोषक आसिफ शाहले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । समानुपातिक उम्मेदवारको सूचीलाई लिएर पार्टीभित्र विवाद भएपछि उनले शनिबार फेसबुकमा एक पोस्ट लेख्दै उक्त घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘जनताको चाहना अनुरूप बालेन-रवि-कुलमानको मिलन सम्भव होस् भनेर गरिएका प्रयासहरूलाई नजिकबाट मूल्याङ्कन गर्ने साथीहरू यसका साक्षी छन् । त्यही मिहिनेत देखेर साथीहरूले मलाई ‘सांसद बन्नुपर्छ’ भन्दै सूचीमा नाम समावेश गर्नुभयो ।’ उनले नियत सही हुँदाहुँदै पनि गल्ती भएको अनुभूति भएपछि नाम फिर्ता लिने निर्णय गरेको उल्लेख गरेका छन् ।

उनले आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ काठमाडौँ–५ बाट चुनाव लड्ने समेत घोषणा गरेका छन् । आसिफ अगाडि लेख्छन्, ‘प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट छ- प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ, उठ्ने नै हो । हामी काठमाडौँ–५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौं । देशभन्दा ठूलो केही हुँदैन ।’ उनी फिल्म निर्देशक तथा रास्वपाका नेता असिम शाहका भाइ हुन् ।

रास्वपाले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाउँदा ६ जना कलाकारको नाम समावेश गरेको थियो । त्यसमा आसिफ पनि परेका थिए । उनलाई मुस्लिम क्लस्टरतर्फ पहिलो नम्बरमा राखिएको थियो । तर, दाइका कारण उनी उम्मेदवार बनेको भन्दै पार्टीभित्रै आलोचना भएपछि उनले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*