हलमा ‘म’, ‘चपली हाइट ३’ चल्दै

रंगिनपर्दा साउन २१ गते २०७९। फिल्म ‘कबड्डी ४’यता एकपछि अर्को आशातित फिल्महरुले दर्शक तान्न नसकिरहेको अवस्थामा शुक्रवारबाट दुई नेपाली फिल्म ‘म’ र ‘चपली हाइट ३’ प्रदर्शनमा आएका छन् । ‘चपली हाइट ३’ तेस्रो पटक प्रदर्शन भएको हो । पहिलो प्रदर्शन कोरोनाले विथोलेको थियो भने दोस्रो प्रदर्शनमा दर्शकहरुले फिल्म हेर्ने रुचि नै देखाएनन् । अब तेस्रो प्रदर्शनको नतिजा कस्तो आउँछ, हेर्न बाँकी छ ।

‘म’ र ‘चपली हाइट ३’को जनरा एउटै हो, ड्रामा, क्राइम र सस्पेन्स थ्रिलर । मल्टीप्लेक्सहरुमा दुवै फिल्मले औसत शो पाएका छन् । सिंगल थिएटरको संख्या भने ‘म’को पक्षमा धेरै छ । यी दुई फिल्मलाई शुक्रवारबाटै प्रदर्शनमा आएको हलिउड सुपरस्टार ब्रान्ड पिट अभिनीत ‘बुलेट ट्रेन’ र साउथ स्टार रवि तेजाको ‘रामा राव अन ड्यूटी’ मल्टीप्लेक्समा केही हदसम्म चुनौती बन्न सक्नेछन् ।

सुवर्ण थापाको निर्देशनमा तयार भएको ‘म’मा सरोज खनाल, संजोग रसाइली, निराजन प्रधान, निशा अधिकारी, पुनम श्रेष्ठ, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्कालगायतको अभिनय रहेको छ । प्रकाश पुरीको कथा तथा पटकथा रहेको फिल्ममा तेन्जिङ्ग पाल्देनको छायांकन र बनिश शाहको सम्पादन छ । फिल्मको निर्मातामा बिमला हुमागाईं र पदम पुरी छन् ।

त्यस्तै, निकेश खड्का निर्देशित ‘चपली हाइट ३’लाई अर्जुन कुमारले निर्माण गरेका हुन् । फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौलालगायतका कलाकारहरुको अभिनय छ । फिल्मको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*