बुटवल, भदौ ११ गते । मह जोडी अभिनीत फिल्म ‘महापुरूष’ शुक्रबारदेखि नेपालको ओटिटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज भएको छ।
यो फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो। यो फिल्म सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सःशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ। फिल्मलाई २ सय रूपैयाँ तिरेर हेर्न सकिनेछ।
शुक्रबार काठमाडौं आयोजना गरिएको पत्रकार सम्मेलनमा सिनेमाघरका अध्यक्ष खगेन्द्र लामिछानेले ‘महापुरुष’ लाई हलमा जस्तै एपमा पनि दर्शकको राम्रो साथ मिल्ने बताए। अघिल्लो वर्ष सिनेमाघर एपमा फिल्म ‘कबड्डी ४’ रिलिज गरिएको थियो। यो फिल्मले युट्युबमा भन्दा राम्रो कमाइ गरेको लामिछानेको दाबी छ।
महापुरूषका प्रमुख अभिनेता हरिवंश आचार्यले डिजिटल माध्यममा ठुलो संख्यामा दर्शकहरू रहेको बताए। पहिलो पटक ओटिटी प्लेटफर्ममा आफ्नो फिल्म रिलिज भएकोमा खुसी व्यक्त गरे।सिनेमाघर एपका चिफ टेक्निकल अफिसर सन्जिव ढकालले सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेको बताए। अबदेखि सिनेमाघरले एलजी, सामसुङ र एप्पल एयरप्ले पनि थप गरेको छ।सिनेमाघर एपमा उपलब्ध फिल्महरू नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेविट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिनेछ। गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिने सेवा सुरू भएको छ।
यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत फिल्महरू हेर्न सकिन्छ।
प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्म ‘महापुरूष’ मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, गौरी मल्ल, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायत कलाकारको अभिनय छ।
Be the first to comment