बुटवल, २०८० साउन १४ गते। गत असार २१ गते रातोपुलस्थित घरमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारको मोबाइलको नोट्स प्याडमा सुसाइड नोट भेटिएको छ । सारुकको मोबाइललाई परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाउँदा आएको रिपोर्टमा सुसाइड नोट भेटिएको प्रहरीले जानकारी गराएको छ । सुसाइड नोटमा सारुकले विवाद ननिकाल्न र कसैलाई दोष नदिन प्रहरीसँग आग्रह गरेका छन् ।
नेपाल प्रेसका अनुसार सारुकको सुसाइड नोटमा लेखिएको छ, ‘पुलिसहरू डन्ट फ*** मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यहीँ इन्ड हुनु थियो । सो सकियो । मेक मि रेस्ट इन पीस, धन्यवाद ।’ सारुकले आमालाई सम्बोधन गर्दै ‘अर्को जुनीमा तपाईंकै छोरा भएर जन्मिन पाउँ’ भनेर लेखेका छन् । सुसाइड नोटमा उनले साथीभाईलाई पनि सम्झेका छन् ।आमा-बुबा आफन्तको पार्टीमा गएको बेलामा सारुकले घरमा झुन्डिएर आत्महत्या गरेका थिए । सोही दिन उनले साँझसम्म फिल्म ‘ह्यासट्याग माया’को छायांकन गरिरहेका थिए । छायांकन सेटमा एक महिला अभिनेत्रीले सारुकलाई कोठाभित्र लगेर हप्काएको फिल्मका निर्देशक राजीव गुरुङले एक अन्तर्वार्तामा खुलासा गरिसकेका छन् । यो फिल्ममा सारुक नकारात्मक भूमिकामा थिए ।
छोराको निधनको चिन्ताले उनका पिता सानु ताम्राकार अस्वस्थ बनेका छन् । उनलाई शनिबार थापाथलीस्थित नर्भिक अस्पातलमा भर्ना गरिएको छ । उनीसँग परिवारका केही सदस्यबाहेक अरु कसैलाई भेट्न दिइएको छैन । उनी बोल्न सक्ने अवस्थामा नभएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन् । सानु ताम्राकार कलाकारसँगै नामी जादुगर समेत हुन् ।
Be the first to comment