सामाजिक सञ्जालबाट विश्राम लिने ‘स्पाइडरम्यान’को घोषणा

रंगिन पर्दा, भाद्र १ गते २०७९। ‘स्पाइडरम्यान’ अभिनेता टम होल्याण्डले मानसिक स्वास्थ्यलाई ख्यालमा राख्दै सामाजिक सञ्जालबाट विश्राम लिने घोषणा गरेका छन् ।सोमबार इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा उनले भनेका छन्, ‘मानसिक स्वास्थ्यको लागि मैले सामाजिक सञ्जालबाट विश्राम लिंदैछु । किनकि मलाई ट्वीटर र इन्स्टाग्राम अति उत्तेजक महसुस भएको छ। ममाथि यी प्लेटफर्म भारी भएका छन् ।’उनी अगाडि भन्छन्, ‘जब म मेरोबारेमा अनलाइनमा कुरा पढ्छु, मलाई दिक्क र रिंगटा लाग्छ । अन्ततः मलाई लाग्यो, मेरो मानसिक स्वास्थ्यको लागि पनि यो हानिकारक कुरा हो ।’

‘स्पाइडरम्यान’ अभिनेतालाई इन्स्टाग्राममा ६७.७ मिलियन र ट्वीटरमा ७.४ मिलियनले पछ्याएका छन् । पछिल्लो समय उनले यी प्लेटफर्र्म प्रयोग गरेका छैनन् । उनले इन्स्टाग्राममा अन्तिम फोटो ६ साताअघि पोस्ट गरेका थिए भने गत फेब्रुअरी २०२२ मा ट्वीट गरेका थिए ।लगभग तीन मिनेट लामो उनको भिडियोलाई इन्स्टाग्राममा छोटो समयको लागि कमब्याक भन्न सकिन्छ । उनले सोसल मिडियाबारे आफ्ना भावना प्रवाह गर्न संघर्ष गरिरहेको देख्न सकिन्छ । ‘नमस्ते साथीहरु, एक घण्टादेखि म यो भिडियो बनाउन संघर्षरत छु,’ उनी भन्छन् ।

भिडियोको अन्त्यमा उनले आफ्ना आमाबुबाद्वारा स्थापित सामाजिक संस्था स्टेम फोर र ब्रदर्स ट्रस्टबारे पनि उल्लेख गरेका छन्, जुन संस्थाले मानसिक स्वास्थ्यबारे काम गर्छन् । यी संस्थालाई सघाउन आफू तयार रहेको समेत उनले बताएका छन् ।सामाजिक सञ्जालबाट विश्राम लिने विश्व सेलिब्रिटीमध्ये होल्याण्ड मात्र एक्ला होइनन् । यसअघि स्टार वार्स अभिनेत्री डेइसी राइड्लीले पनि ६ वर्षको अन्तरालपछि इन्स्टाग्राममा कमब्याक गरेकी थिइन् । सेलेना गोमेज, लोर्दे र किम कार्दसियनले पनि सामाजिक सञ्जालबाट ब्रेक लिइसकेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*