बुटवल , २०८० साउन १० गते। गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘शिवानी’ यतिबेला चर्चामा छ । चर्चा यसकारण कि चलचित्र विकास बोर्डले यसैसाता सार्वजनिक गरेको गत आर्थिक वर्षमा रिलिज भएका फिल्मको ग्रस कमाइ विवरणमा ‘शिवानी’को कमाइ ५२० रुपैयाँ उल्लेख छ ।
बोर्डले यो हिसाब सार्वजनिक गरेलगत्तै सामाजिक सञ्जालमा यो फिल्मलाई लिएर ट्रोल बनिरहेको छ । यो फिल्मलाई युट्युबमा खोज्नेको संख्या पनि बढेको देखिएको छ । कतिपयले इतिहासमै सबैभन्दा न्यून कमाउने फिल्मको रुपमा यसलाई चर्चा गरिरहेका छन् ।
यो फिल्ममा नचिनिएका कलाकारको बाहुल्यता छ । जसमा निर्मल शर्मा अपवाद हुन् । ‘छक्कापञ्जा ४’ का कार्यकारी निर्माता र अभिनेता समेत रहेका शर्मालाई एकाएक शिवानीले चर्चामा ल्याएको छ । केही फेसबुक पेजले शर्माकै तस्वीर हालेर फिल्मको कमाइलाई सेयर गरिरहेका छन् ।
यस्तोमा, अभिनेता शर्माको औपचारिक टिप्पणी आएको छ । उनले अरुको फिल्म चल्दा दुःखी हुने र नचल्दा खुसी हुने भन्दै कटाक्ष गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले सुध्रिनु जरुरी रहेको समेत बताएका छन् ।
शर्मा लेख्छन्, ‘‘शिवानी’ आम्दानी रु. ५२०, बोर्डका अनुसार । १८-२० वर्षअघि जतिबेला काठमाडौं सहरका भित्ताभित्तामा शुक्रबार प्रदर्शन हुने चलचित्रहरुको पोस्टर टाँसिन्थ्यो । त्यही पोस्टर टास्ने भाइहरुको अनुरोधमा उनीहरुको त्यतिबेलाको मेहनत अनि दु:खको सम्मान गर्दै उक्त चलचित्रका सम्पूर्ण कलाकारहरु समावेश भएको एउटा गीतमा म पनि आवद्ध भएको थिएँ । तर बिडम्बना चलचित्र चलेन । हामी प्राय: अरुको फिल्म चल्दा दु:खी हुने र नचल्दा खुसी हुने गर्छौं । आफू नै सुध्रिनु जरुरी छ ।’
शर्माको यो भनाइलाई समर्थन मिलिरहेको छ । ‘छक्कापञ्जा’ निर्माता तथा अभिनेता दीपकराज गिरीले पनि शर्माको भनाइलाई लाइक गर्दै समर्थन व्यक्त गरेका छन् ।
Be the first to comment