बुटवल , २०८० भाद्र १३ गते। यसवर्षको राष्ट्रिय चलचित्र पुरस्कार २०८० प्रदान गरिएको छ । मंगलबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अवार्ड वितरण गरे ।सर्वश्रेष्ठ फिल्म विधा समावेश नगरिकनै अवार्ड वितरण गरिएको थियो । जसमा ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ले जुरी अवार्ड प्राप्त गरे ।सोसल ड्रामा फिल्म ‘प्रकाश’बाट दिनेश राउत सर्वश्रेष्ठ निर्देशक घोषित भए । सर्वश्रेष्ठ पटकथा विधामा ‘चिसो मान्छे’बाट दीपेन्द्र के खनालले ट्रफी उचाले । यो फिल्मले कोरोना महामारीको समयमा कतारबाट ल्याइएको शवलाई दुर्गम जुम्ला पुर्याउन मुख्य पात्रले गर्नुपरेको संघर्ष पेश गर्छ ।‘महापुरुष’बाट हरिवंश आचार्य सर्वश्रेष्ठ अभिनेता घोषित हुँदा दीया मास्के ‘प्रकाश’बाट सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन् । यद्यपि, पोखरामा टेलिभिजन शो ‘रोडिज’को छायांकनमा ब्यस्त भएकाले दीया अवार्ड समारोहमा अनुपस्थित रहिन् ।
‘लप्पन छप्पन २’बाट पुरुषोत्तम प्रधान सर्वश्रेष्ठ छायांकार घोषित भए । निमेष श्रेष्ठले ‘दोख’बाट सर्वश्रेष्ठ सम्पादकको ट्रफी उचाले । आदिवासी जनजाति फिल्म विधातर्फ मुनाल फिल्म्सको ‘ह्युलन छायाँ बा’ सर्वोत्कृष्ट घोषित भयो ।२०७८ सालको विशेष फिल्मतर्फ टुल्की र नीरमाया उत्कृष्ट भए । २०७९ सालको विशेष फिल्ममा बुलाकी, प्रसाद २ र चिसो मान्छे सर्वोत्कृष्ट भए । यी फिल्मले सबटाइटलका लागि २ लाख रुपैयाँ प्राप्त गरेका छन् ।सो अवसरमा राष्ट्रपति पौडेलले अभिनेता शिवसुन्दर श्रेष्ठ र अभिनेत्री लक्ष्मी गिरीलाई दीर्घ साधना सम्मान प्रदान गरे । साथै, ३५ जना फिल्म र संगीतकर्मीलाई विशेष योगदान सम्मान प्रदान गरियो ।
समारोहमा बोल्दै संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०७१ सालको फिल्म नीतिको पुनरावलोकन गर्ने क्रम जारी रहेको बताउँदै फिल्म कानून निर्माणको लागि चलचित्र ऐनको विधेयकको मस्यौदा बनिरहेको जानकारी दिइन् ।नेपाली फिल्मलाई गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धी बनाउन जरुरी रहेको र सघाउन सरकार तयार रहेको मन्त्री शर्माको भनाई थियो । ‘यसका लागि सरकार चाँडै फिल्मकर्मीसँग छलफल गर्ने तयारीमा छ’ उनले भनिन् ।कथानक मात्र नभएर डकुमेन्ट्री र छोटा फिल्मको प्रवद्र्धन गर्ने योजना रहेको बताउँदै मन्त्री शर्माले मौलिक कथालाई स्टोरी बैंकमार्फत सघाउने क्रम निरन्तर रहने बताइन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियरुपमा प्रवद्र्धन गर्नको लागि सरकारको सहयोग जरुरी रहेको बताएका थिए । सो अवसरमा बोर्डको तर्फबाट राष्ट्रपति पौडेललाई मायाको चिनो प्रदान गरिएको थियो । नेपाली सेनाको टुकडीले उक्त अवसरमा फिल्म ‘मनको बाँध’देखि पछिल्लो समयका फिल्मसम्मको संगीत समेट्दै धुन प्रस्तुत गरेको थियो ।
Be the first to comment