बुटवल, २०८० भदौ १२ गते । ‘जात्रा’ फ्रेन्चाइजको तेस्रो शृङ्खला ‘महाजात्रा’ को निर्माण घोषणासँगै कलाकार तथा प्रदर्शन मिति सार्वजनिक गरिएको छ । एउटा ट्रकको पछाडिको भागलाई चित्रित गरिएको पोस्टरमा चलचित्रको प्रदर्शन मिति आगामी चैत ९ गते उल्लेख गरिएको छ । चलचित्र फागुपूर्णिमाको अवसर पारेर प्रदर्शनमा आउने भएको छ ।
चलचित्रमा ‘जात्रा’ सिरिजकै चार कलाकार विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा र वर्षा राउत पुनः दोहोरिने हुनुभएको छ । साथै कलाकार हरिवंश आचार्यको पनि अभिनय रहने भएको छ । पोस्टरमा चित्रित ट्रक पैसाको बिटोले भरिएको छ । चलचित्रले पैसाको वरिपरि घुम्ने प्रस्ट्याउँछ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने चलचित्र भदौपछि छायाङ्कनमा जाने छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण हुने चलचित्रको निर्मातामा म्याक्स दीपेश खत्री र यत्रश्वर पौडेल हुनुहुन्छ भने कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।
Be the first to comment