बुटवल, १२ जेठ २०८१ । जेष्ठ १० गतेलाई जातीय विभेद बिरुद्धको दिवसको रुपमा मनाउन सुझाव दिंदै फिल्म पुजार सार्कीले फिल्मको तर्फबाट बुलन्द आवाज दिएको छ। गाउँबाट सल्किएको जातियताको लडाईं अन्तत: सिंहदरबार गेट अगाडीको आन्दोलन सम्म पुगेको छ। आउँदो जेष्ठ २१ गते परेको जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसलाई समेत सन्दर्भ पारेर फिल्म १० गतेबाट रिलिज भएको छ।
आधुनिक समाजको यथार्थ चित्रणलाई २०४६ साल ताकाको कथाबस्तुले आजै हो कि भन्ने भान पारिदिएको छ। कथाबस्तु र पात्रमा दम छ, प्रदीप खड्काले आफ्नो अभिनयको नयाँ अध्याय पुन : शुरुवात गरेका छन्। आफ्ना हिट फिल्ममा चकलेटी बोयका रुपमा अडिएका ३ पिल्लर पल शाह, आर्यन सिग्देल र प्रदीप खड्काले समाजका आँखा खोल्न गरेका अनेकौ प्रयासलाई फिल्ममा गर्हौ देखाइएको छ।
समाजका हरेक घरघरमा हुने प्रेमका लहरले एकाएक समाजमा पर्ने प्रभावलाई जातियताको लडाईले अगेना, चुलो चौको, भान्सा,मेला पाटि पौवा खेतबारी हुँदै सडक र सदन सम्म कुरो उठाएको छर्लंग हुन्छ। क्लाइमेक्समा देखाइएका बर्बर दृश्यले शरीरका रौ आफै उठ्छन। एकपटक यो लडाई लडौकी ? भन्ने लाग्छ। पुजार मार्फत आर्यन सिग्देल एक ब्राहमण पुजारी बनेका छन् भने प्रदिप मैते को रुपमा दलित समुदायको प्रतिनिधित्व गरेका छन्। पल शाहले एक शिक्षित युवाको भूमिकामा राजनीतिक या बैचारिक लडाइले मात्र समाज परिबर्तन सम्भव छ भनेर अन्तिम सम्म लागि पर्दछन।
यो चलचित्र विशुद्ध दलित समुदाय, जातीय विभेद, जातपात, छोइछिटो, अन्तर्जातीय विवाह र विद्रोहमा आधारित छ । र सम्भवतः ठूलो पर्दामा यो मुद्दालाई प्रमुख बनाएर निर्माण गरिएको यो नै पहिलो चलचित्र होला । पुजार (आर्यन सिग्देल) हरिद्वारमा आचार्यसम्मको अध्ययन गरी फर्किएर कास्कीकोटको कालिका माइ मन्दिरमा पुजारी बनेको छ । पुख्र्यौली विडो थामेर पुजारी भए पनि विचारले क्रान्तिकारी छ, तर व्यवहारले पुष्टि गर्न नसक्ने परिबन्धमा छ । उसको प्रेम मन्दिरमा सरसफाइ गर्ने, घरमा सघाउने मैया (अञ्जना बराइली)सँग छ, उ जातले सार्की हो । त्यही गाउँमा चञ्चले, अस्थिर स्वभावको पात्र छ, मैतबहादुर परियार (प्रदीप खड्का) । जन्मले कुलघरान अज्ञात छ, दमाई परिवारले पालनपोषण गरेका कारण उ अछुत हुन विवश छ । यो पात्र नै चलचित्रको सबैभन्दा रोचक छ । मैतबहादुरको गहिरो प्रेम गाउँकै मगर पुजारीको एक मात्र छोरी गौमाया (परीक्षा लिम्बू) सँग छ । दुवै प्रेमसम्बन्धमा जात बाधक बनेर आएको छ र यसरी फिल्मको कथा अगाडि बढ्छ ।
नेपाली समाजले अहिले पनि स्वीकार गर्न नसकेको प्रमुख विषय अन्तर्जातको प्रेम हो, विवाह हो। यसको जरो खोतल्दै जाने हो भने समाज विभेदको कारण यसैमा अल्झिएको पाइन्छ ।त्यही कथालाई टपक्क टिपेर निर्देशक दिनेश राउतले अर्गानिक लवज र भेषभुषामा फिल्म पस्केका छन्। प्रदीपको अभिनयको तारिफ हलाहलामा फिल्म नसकिउञ्जेल सुनिन्छ, संवाद देखि सिनेमाटो अब्बल देखिन्छ।
निर्माता सुभाष भुसालले निर्माण रहेको जातीय विभेदविरुद्धको कथामा आधारित फिल्मलाई दर्शकहरुबाट बलियो ‘वर्ड अफ माउथ’ मिलेको छ ।बिहिबार रिलिज भएको फिल्ममा मायालु पारामा अञ्जना बराइली र परीक्षा लिम्बूको भूमिका आक्रामक छ ।फिल्मले बुटवल लगायत देशका प्रमुख शहरहरुमा फुलहाउस दर्शक समेटेको छ। नेपाली दर्शकले नयाँ स्वाद चाख्न पाउने गरि बनाइएको फिल्म एकपटक हेर्ने पर्ने चलचित्र बनेको छ।
Be the first to comment