फिल्म ‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ

बुटवल,असोज २१ गते। फिल्म ‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धका अनुसार शुक्रबार पक्राउ परेका अग्रवाललाई म्याद थपका लागि आइतबार जिल्ला अदालतमा उपस्थित गराइँदैछ । ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतको उजुरीपछि प्रहरीले अग्रवाललाई पक्राउ गरेको हो । उनलाई शुक्रबार सिंहदरबार वृत्तले पक्राउ गरेर अनुसन्धानका लागि बौद्ध प्रहरीलाई बुझाएको थियो । अहिले अग्रवाललाई बौद्ध प्रहरीको हिरासतमा राखिएको छ । अग्रवालले सञ्चालन गरेको युट्युब च्यानल ओएसआर डिजिटलले ‘प्रसाद २’ को डिजिटल राइट समेत लिएको थियो ।

अनलाइनखबरसँगको सम्पर्कमा आएका ओएसआर डिजिटलका प्रतिनिधि रुपेन्द्र खड्गीले आफूहरु निर्दोष रहेको र चाँडै सत्यतथ्य बाहिर ल्याउने बताए । ‘हामीले यसअघि भएका सबै कागजात जुटाउँदैछौं, यो विवादमा सत्यतथ्य बाहिर ल्याउँदैछौं’ खड्गीले भने, ‘हामी निर्दोष छौं ।’

भएको के हो ?

२०७६ चैत ९ गते फिल्म ‘प्रसाद २’ तत्कालीन निर्माण कम्पनी सुभाष थापा प्रोडक्सन प्रालिका सुभाष थापा र ओसआर डिजिटल इन्टरटेनिङ द नेसन प्रालिका अध्यक्ष ओमप्रकाश अग्रवालबीच डिजिटल राइट्ससम्बन्धी एक करार सम्झौता भएको थियो ।

जसअनुसार फिल्मको हल प्रदर्शन र च्यारिटी शोबाहेको सम्पूर्ण डिजिटल र अन्य प्रविधिबाट हुने प्रदर्शन अधिकार ओएसआरको हुने र डिजिटल राइट्स खरिद गरेबापत अग्रवालले थापालाई भ्याटसहित एकमुष्ट ३२ लाख ५० हजार रुपैयाँ दिने सम्झौता भएको थियो ।

पछि केशव पाण्डे निर्माताको रुपमा फिल्ममा भित्रिए । छायांकनमा जानुअघि विवाद भएपछि पाण्डेले फिल्म छाडेपछि थापाले सुदर्शन बस्नेतलाई नयाँ निर्माताको रुपमा भित्र्याए ।

बस्नेत फिल्ममा जोडिएपछि पुरानो हिसाब खोज्ने क्रममा थप विवाद बढ्यो । जसमा डिजिटल राइट्ससम्बन्धी विषयलाई लिएर विवाद भएपछि उनले अग्रवालविरुद्ध जाहेरी दिएको प्रहरी स्रोतले बताएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*