दीपक मनाङ्गे हिरो बन्दै,‘बाघ चाल’मा सविन भिलेन

रङ्गीनपर्दा।गण्डकी प्रदेशसभा सदस्य, पूर्व मन्त्री तथा निर्माता राजिव गुरुङ (दीपक मनाङ्गे)ले पहिलो पटक फिल्ममा अभिनय गर्ने भएका छन्। अभिनेता सविन श्रेष्ठसँग मिलेर निर्माण गर्न लागेको फिल्म ‘बाघ चाल’मा मनाङ्गेले मुख्य भूमिका निभाउन लागेका हुन् । फिल्ममा उनको सकारात्मक भूमिका रहने सविनले फिल्मीखबरलाई बताए । उनी भने नकारात्मक अर्थात् भिलेनको भूमिकामा देखिनेछन् ।दशैंअघि छायांकन पूरा गरेर यस वर्षको अन्त्यमा फिल्मलाई प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।

सम्राट बस्नेतको निर्देशन रहने फिल्मको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । फिल्मको ९० प्रतिशत छायांकन नेपालमा र एक गीतसहित १० प्रतिशत छायांकन अष्ट्रेलियामा हुने अभिनेता श्रेष्ठले जानकारी दिए । फिल्म एक्सन र लभस्टोरी कथामा बन्ने उनको भनाई छ ।सविन ‘बाघ चाल’बाट आफ्नो जबर्जस्त कमब्याक हुनेमा विश्वस्त छन् । उनले भने, ‘म अहिलेसम्म एउटै खाले भूमिका र गेटअपमा प्रस्तुत भएँ । म आफैं मोनोटोनस भएको थिएँ । यसपटक अलि फरक भूमिका निभाउँदैछु । म आफैंलाई त्यो भूमिका निर्वाह गर्न चुनौती छ ।’

फिल्ममा ३ नायक र २ नायिका हुने सविनले बताए । एक नायिका भने मुम्बईमा बस्ने नेपाली मुलकी युवती हुनेछिन् ।पहिलो पटक दीपक मनाङ्गेलाई ठूलो पर्दामा अभिनय गर्दै गरेको हेर्न दर्शकलाई रोचक हुनेछ । उनले पहिलो पटक अभिनय गर्न लागेको भए पनि फिल्म निर्माण निरन्तर गर्दै आइरहेका छन् । उनले आफ्नो छोरा सिद्धार्थ गुरुङलाई अभिनेताको रुपमा डेब्यू गराउन पहिलो पटक फिल्म ‘वन वे’ बनाएका थिए । त्यसपछि उनी ‘पोइ पर्‍यो काले’ र ‘दुई नम्बरी’मा निर्माताको रुपमा जोडिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*