बुटवल, २०८० मंसिर ८, शुक्रवार । तिहारको छेको पारेर प्रदर्शनमा आएको निश्चल बस्नेतद्वारा निर्देशित फिल्म ‘दिमाग खराब’ले एउटा साधारण मान्छेको कथा भनेको छ । राज्यको माथिल्लो तहमा बस्ने व्यक्तिले सर्वसाधारणलाई कुन रुपले हेर्छन् र कस्तो व्यवहार गर्छन् भन्ने विषयमा फिल्म केन्द्रित छ । एकातिर फिल्मले उठाएको विषय चर्चामा रहँदा अर्कोतिर फिल्मका निर्माताले उठाएको मागले ठूलो बहस सृजना गरेको छ ।
विदेशी फिल्म बराबर शोज बाँडफाँड र फिल्म चलुन्जेल ५० प्रतिशत सेयर पाउनुपर्ने माग निर्माताले गरेका छन् । अन्यथा फिल्मको प्रदर्शन रोक्ने घोषणा गरिएको छ । फिल्मका निर्माताले उठाएको यो विषय अहिले प्रदर्शक र वितरकका लागि घाँटीमा अड्केको हड्डी बनेको छ । गायक तथा अभिनेता प्रकाश सपूत भने फिल्मले पर्दाभित्र र पर्दाबाहिर उठाएको मुद्धा सशक्त रहेको बताउँछन् ।
सपूत फेसबुकमा लेख्छन्, ‘फिल्मले पर्दाभित्र उठाएको राजनीतिक मुद्दा र पर्दाबाहिर उठाएको व्यावसायिक मुद्दा दुवै सशक्त छ । आन्तरिक नेपाली फिल्मबीचको खिचतानी होस् या विदेशी फिल्म लिएर गरिने हस्तक्षप । कम्तिमा फिल्म प्रदर्शनलाई व्यावसायिक, मर्यादित, पारदर्शी र न्यायपुर्ण बनाईदिए हुन्थ्यो । किनकि, फिल्ममा भन्न सकिन्छ कि भनेर सोचेका केही मौलिक कथाहरु छन् ।’
नेपाली फिल्मले भोगिरहेको विभिन्न समस्याकै कारण आफूलाई फिल्ममा लगानी गर्न हिम्मत नआएको प्रकाशको भनाई छ । उनले ‘दिमाग खराब’मा स्वस्तिमा खड्काको अभिनय उत्कृष्ट रहेको भन्दै बधाई समेत दिएका छन् । यस वर्षको दशैंमा आएको फिल्म ‘परदेशी २’बाट अभिनेताको रुपमा डेब्यू गरेका प्रकाश आगामी वर्ष आफ्नै निर्माण तथा निर्देशनमा फिल्म बनाउने तयारीमा छन् ।
Be the first to comment