बुटवल, ५ मंसिर २०८०। प्रदर्शन भैञ्जेल ५० प्रतिशत सेयर नदिए फिल्म उतार्ने भन्ने बारे ‘दिमाग खराब’ निर्माताले दिएको म्याद मंगलबार सकिँदैछ । यसबारे छलफल गर्न चलचित्र संघले दिउँसो बैठक बोलाएको छ जहाँ हल संचालक भेला हुँदैछन् । संघका एक सदस्यले फिल्मका निर्माता, निर्देशकसहित हल संचालकलाई छलफलमा बोलाइएको जानकारी दिए । यो छलफलले ‘दिमाग खराब’को प्रदर्शनलाई निरन्तरता दिने वा नदिनेबारे निर्णय गर्नेछ । कात्तिक २९ गते निर्देशक निश्चल बस्नेत र निर्माता रौनकविक्रम कडेलले एक विज्ञप्ति जारी गर्दै शोज र सेयर बाँडफाँटको माग पुरा नभए फिल्म उतार्ने घोषणा गरेका थिए । त्यसको भोलिपल्ट बसेको संघ र निर्माताबीचको छलफलमा शो बाँडफाँटबारे सहमति जुटेको थियो ।
तर, सेयर बाँडफाँटमा सहमति नजुटेपछि पुनः मंगलबार बैठक बस्ने जनाइएको थियो । ‘आजको बैठकमा सबै हल संचालकको राय संकलन र फिल्मको मंगलबारको प्रदर्शनको अवस्थाबारे हेरेर टुंगो लाग्नेछ’ एक सदस्यले अनलाइनखबरसँग भने । ‘दिमाग खराब’ले दोस्रो सप्ताहन्तसम्म घरेलु बक्सअफिसमा उत्साहजनक ब्यापार गरेको छ । दोस्रो सप्ताहन्तमा त यसले विदेशी फिल्मलाई समेत चुनौति दिएको देखिएको छ । तर, सोमबारदेखि सबैजसो फिल्मको अकुपेन्सीमा गिरावट आएको देखिएको छ ।
Be the first to comment