रंगिन पर्दा, भाद्र १ गते २०७९। दशकअघिको चर्चित बलिउड फिल्म ‘डर्टी पिक्चर’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । विद्या बालनको मुख्य भूमिका रहेको फिल्म महिला र महिला केन्द्रित कथावस्तुमा बनेको हो । चर्चाको शिखरमा पुगेकी फिल्म नायिकाको पतनको कथा यसले पेश गर्छ ।बलिउडमा महिला प्रधान फिल्म दर्शकले हेर्दैनन् भन्ने धारणा रहेको बेला एकता कपुरले निर्माण गरेको फिल्मले ८० करोड नेट कलेक्सनको लोभलाग्दो कमाइ गरेको थियो । बलिउड सञ्चारमाध्यमका अनुसार ११ वर्षपछि बालाजी फिल्मले सिक्वेल बनाउन लागेको हो ।
पटकथा लेखक कनिका ढिल्लोनले अहिले फिल्मको कथा लेखिरहेकी छन् । उनले यसअघि ‘मनमर्जियाँ’, ‘हसिन दिलरुबा’, ‘रश्मी रकेट’ आदि फिल्म लेखेकी छन् । एकता कपुरले फिल्म बनाउने तयारी गरेसँगै बलिउड अभिनेत्रीहरु यो फिल्म खेल्ने इच्छासहित सम्पर्कमा पुगेको खबर छ ।नायिकाद्वय तापसी पन्नु र कृति सेननले फिल्म खेल्ने इच्छा व्यक्त गरेका छन् । यसअघि एकताले कंगना रनौतलाई यो फिल्म खेल्ने प्रस्ताव गरेकी थिइन् ।
तर इमेजलाई असर पर्न सक्ने भन्दै उनले फिल्म खेल्न अस्वीकार गरेको जनाइएको छ ।मिलन लुथरियाले निर्देशन गरेको पहिलो भाग दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताको जीवनमा आधारित थियो । प्रसिद्धिको शिखरमा पुगेको बेला ‘सेक्स साइरन’ उपमानले चर्चित सिल्कले उत्तरार्द्ध एक्लो जीवन बिताउनु परेको थियो । विद्या बालनले डर्टी पिक्चरको पहिलो श्रृंखलाबाट राष्ट्रिय पुरस्कार पनि जितेकी थिइन् ।
Be the first to comment