बुटवल , २०८० भाद्र २४ गते । अहिले हलमा प्रदर्शन भइरहेको शाहरुख खान स्टारर ‘जवान’मा समावेश नेपालको पुरानो नक्सा (चुच्चो नभएको)लाई फिल्मबाट हटाइएको छ ।सामाजिक सञ्जाल र मिडियामा यसबारे टिप्पणी भएपछि उक्त नक्साको दृश्य हटाइएको केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए ।‘वितरकलाई उक्त दृश्य हटाउन लगाएका छौं,’ अध्यक्ष सुवेदीले अनलाइनखबरसँग भने ।
सन् २०१९ नोभेम्बरमा भारतले नेपाली भूभाग समेटेर नयाँ राजनीतिक नक्सा जारी गर्यो । त्यसको विरोधमा नेपालले पठाएको कूटनीतिक नोटलाई बेवास्ता गर्दै भारतले लिपुलेक क्षेत्रमा सडक बनाउन थालेपछि नेपालले पनि नयाँ राजनीतिक नक्सा जारी गर्यो । लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेटर जारी भएको नयाँ नक्सालाई २०७७ जेठमा संसदले सर्वसम्मत पास गर्यो ।
पछिल्लो समय चीनले पनि आफ्नो नयाँ नक्सामा नेपालको पुरानै भूगोल चित्रण गरेपछि यसको पनि विरोध भइरहेको छ । विरोधमा काठमाडौंका मेयर बालेन शाहले चीन भ्रमण नै रद्द गरे । फिल्मको कुरा गर्दा शाहरुखको यो फिल्मले नेपाली बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ ।
Be the first to comment