बुटवल,माघ २४ गते २०८०। एक पछि अर्को सुपरहिट फिल्म दर्शकलाई चखाउन माहिर निर्देशक मिलन चाम्स ब्लक बस्टर निर्देशक हुन् । शुरुका दिनमा हिट फिल्म दिएर कलाकारलाई समेत सुपरहिट बनाएका उनले आगामी फागुन ११ गते फिल्म ‘गोर्खा वारियर’ को प्रदर्शन गर्ने तयारीमा छन्। मिलन प्रायः ‘स्टार’ कलाकारलाई लिएर फिल्म बनाउन रुचाउँछन् । पर्दामा बिक्ने राजेश हमाल, दयाहाङ राई, प्रदीप खड्का, पल शाह, प्रियंका कार्की जस्ता कलाकारलाई उनले निर्देशन गरिसकेका छन् । तर, उनले आफ्नो ड्रिम प्रोजेक्ट मानेको ‘गोर्खा वारियर’मा भने मुख्य नायकमा नयाँ अनुहार लिएका छन् । यो फिल्मबाट रितेश चाम्सले डेब्यु गरेका छन् । बेलायत निवासी उनी पेशाले ‘पाइलट’ हुन् ।
फिल्ममा रितेशलाई लिनुको कारण चरित्रको माग रहेको निर्देशक मिलन चाम्सको जिकिर छ । उनी भन्छन्, ‘फिल्म हेरेपछि रितेश चाम्स नै चाहिने रहेछ भन्ने प्रष्ट हुन्छ । रितेश जति दुःख गर्ने कलाकार नेपाली फिल्ममा कमै छन् । वार जनराको फिल्ममा एउटा सैनिकको भूमिका एउटा ‘मुभमेन्ट’ले थाहा हुन्छ । बन्दुक बोक्ने शैलीले नै ऊ सैनिक हो या हैन भन्ने बुझिन्छ । त्यसका लागि ‘ट्रेनिङ’ प्राप्त हुनुपर्छ ।’ सैनिकको भूमिकाका लागि ‘ट्रेनिङ’ लिन सक्ने धैर्यता नेपाली नायकमा नरहेको भन्दै मिलनले कटाक्ष गरेका छन् । कति कलाकार सुटिङ भैरहँदा ‘वासरुम’मा गएर हराउने गरेको उनले अनुभव सुनाए । वार जनराको फिल्ममा सबै कलाकारले न्याय गर्न नसक्ने पनि उनको दाबी छ । फिल्मका लागि रितेश एकमात्र रोजाई रहेको र उनको अभिनयबाट आफू प्रभावित भएको चाम्सले बताए ।
हाल प्रमोशनका लागि देश दौडाहामा रहेको फिल्ममा रितेशका साथै विजय लामा, शिशिर वाङ्देल, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आले, सुरज तमु, विरुप गोले, सरोज खालिङ, सुमिन गुरुङ, त्रिचु राई आदिको पनि अभिनय रहेको छ । सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा फिल्म आधारित छ । गत हप्ता सार्वजनिक गरिएको ट्रेलरपछि फिल्मको चर्चा चुलिँदो छ । मोफसल दौडाहामा फिल्म ‘गोर्खा वारियर’ चितवन, हेटौडा, पोखरा, बुटवल लगायतका शहरका दर्शक भेट्ने र काठमाण्डौ फर्किने योजना रहेको बताइएको छ।
Be the first to comment