बुटवल, २५ कात्तिक २०८० गते । कलाकार रमेश दुलालले काग तिहारको अवसरमा शनिबार बिहान रत्नपार्कमा काग सम्मेलन गरेका छन् । यमपञ्चकको पहिलो दिन उनले बिहान ६ बजे रत्नपार्कमा कागको बथान बोलाए । १७३ जीवजनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने खुबी भएका उनले प्रत्येक वर्षको काग तिहारमा काग सम्मेलन गर्दै आएका छन् । ४० मिनेटसम्म कागलाई बोलाएका थिए । कागको बथान रत्नपार्कमा झुम्मिए । ‘१९ बर्षदेखी यसरी नै बिभिन्न ठाउँमा काग सम्मेलन गर्दै आएको छु । बिशेषगरी तिहारको परम्परालाई जोगाई राखौं र सकारात्मक सन्देश दिऊँ भन्ने मेरो चाहना हो’ उनले भने, ‘रत्नपार्क क्षेत्रमा पहिलेका बर्षमा जस्तो कागको संख्या छैन । पहिले काग धेरै हुन्थे । अहिले कमी आएको छ ।’
पहिलो काग सम्मेलन धनगढीबाट थालेका थिए । दाङ र इलाममा केही बर्ष काग सम्मेलन गरेपछि काठमाडौंमा गर्न थालेका हुन् । सपनामा काग कराएको देखेपछि बिपनामा पनि कराउन थालेको र प्रत्येक बर्ष काग तिहारमा काग जम्मा पार्ने गरेको उनको भनाई छ । उनी भन्छन्, ‘कागको शुभ र अशुभ खबर हुन्छ । कागलाई शुभ खबरले बोलाउँदा आउँदैन र अशुभ खबरले बोलाउँदा आउँछ । उसको भाषा बुझेर बोलाउनु पर्छ ।’
यसबर्षको काग सम्मेलनमा पहिलेको जस्तो कागको संख्या नभएको आयोजक संस्था राष्ट्रिय सङ्गीतकर्मी संघका कार्यवहाक अध्यक्ष प्रकाश कटुवालले बताए । उनी भन्छन्, ‘हामी लामो समयदेखी रमेश दुलालजीसँगै छौं । कागको संख्यामा कमी आएको अनुभूति गरेका छौं ।’
दुलालले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउँदै आएको उनले बताए । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ ।
Be the first to comment