कंगनाको विवादित बयान- ‘नेपाल पनि भारत नै हो’

बुटवल, २१ कात्तिक २०८० । भारतसँग नेपालको सीमा विवाद वर्षौंदेखि ज्यूँकात्यूँ छ । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटिएको नयाँ नक्सा २०७७ सालमा जारी गरेको भए पनि भारतले त्यसलाई मानेको छैन । दुई देशबीच सीमा विवाद समाधान हुन नसकिरहेको अवस्थामा बेला बखतमा भारतीय सेलिब्रेटीहरुबाट पनि नेपालको सार्वभौमसत्ता, स्वाधीनता र राष्ट्रियतामाथि प्रहार हुँदै आएको छ । केही समयअघि भारतीय फिल्म ‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवादमा विवाद भएपछि यस फिल्मका लेखक मनोज मुंताशिरले १९०३ अघि नेपाल भारतकै अंश रहेको दाबी गरेका थिए । अब अभिनेत्री कंगना रनावतले पनि नेपाललाई भारतकै अंश रहेको अभिव्यक्ति दिएकी छन् । उनको यस अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विरोध चर्किन थालेको छ ।

उनले आफू अभिनीत फिल्म ‘तेजस’को प्रचारको शिलशिलामा ‘टाइम्स् नाउ नव भारत’सँगको अन्तर्वार्तामा इजरायलमा प्यालेस्टिनी हमास समुहले गरेको आक्रमणको विषयमा धारणा राख्ने क्रममा नेपाललाई भारतको हिस्सा बताएकी हुन् । रनावतले भनेकी छन्, ‘संसारमा हिन्दूहरुको एउटा पनि देश छैन । एउटा सानो नेपाल छ, त्यसलाई हिन्दूस्तान नै ठान्नुस् वा भारत ‘कन्सिडर’ गर्दा हुन्छ ।’

कंगनाले नेपाललाई हिन्दूस्तान र भारत भनेर गरेको ब्याख्या देशको सार्वभौमसत्तामाथिको प्रहार रहेको भन्दै विरोध हुन थालेको छ । कतिपयले अब उनको फिल्म नेपालमा सधैंका लागि प्रतिबन्ध लगाउनुपर्ने माग पनि गरेका छन् । त्यसो त उनी विवादित बयानकै कारण बलिउडमा आँखाको तारो बन्दै आएकी छन् । उनले सेलिब्रेटीदेखि राजनीतिज्ञसम्मलाई निरन्तर प्रहार गर्दै आइरहेकी छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*