बुटवल, २०८० असोज १२ गते । मुलुकमा देखिएको आर्थिक मन्दीको प्रत्यक्ष असर सिनेमा हलमा देखिएको छ । बाराको सिमरास्थित विजनेश सेन्टरमा सञ्चालित केएसआर सिनेमा हलको वार्षिक आम्दानीले हलको खर्च धान्न समेत मुस्किल भएको सञ्चालकहरुको गुनासो छ । मधेस प्रदेशकै सुविधा सम्पन्न र प्रविधि मैत्री केएसआर सिनेमा हलमा हेटौंडा, चपुर, वीरगञ्जदेखि रक्सोलसम्ममा दर्शक आउने गर्दछन् । दैनिक करिब २ सयको संख्यामा आउने दर्शक संख्याले हलको आन्तरिक खर्च धान्न मुस्किल हुने हलका व्यवस्थापक शिव श्रेष्ठले बताए ।‘अहिलेको आर्थिक अवस्थाले हाम्रो लक्ष्य अनुसार दर्शक आएका छैनन्, हलको खर्च धान्न दैनिक ५ सयभन्दा बढी दर्शक आवश्यक पर्दछ तर अहिले दिनमा २ सय जना दर्शक पनि हलमा छैनन्,’ श्रेष्ठले भने, ‘अहिले त हामी जसोतसो चलेका छौँ ।’
अत्याधुनिक प्रविधि मैत्री केएसआर सिनेमा हलमा १९९ सिट क्षमताको एक र ११८ वटा सिट क्षमताको अर्को गरी २ वटा हल छन् । बुधबार वार्षिकोत्सव कार्यक्रममा हल व्यवस्थापनले दिएको जानकारी अनुसार बिहान ८ बजेदेखि राति १० बजेसम्म दैनिक ६ वटा सो चल्ने हलमा २५० देखि ३ सय रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ । गरिव, विपन्न, एकल महिला, अभिभावक विहीन बालबालिकाहरुमा लागि च्यारिटी सो समेत सञ्चालन गर्दै आएको जनाइएको छ ।
Be the first to comment