बुटवल, १९ कात्तिक २०८० । चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसी नियुक्त भएदेखि बोर्ड थुप्रै विवादमा मुछिएको छ । राष्ट्रिय अवार्डबाट उत्कृष्ट फिल्मको विधा गायब गराउनेदेखि फेष्टिभलको नाममा रकम स्वाहा पार्नेसम्म विवाद छन् । यस्तैमा बोर्डले फिल्म निर्माण गर्ने भनेर अर्को विवाद निम्त्याएको छ । फिल्म निर्माणका लागि ७५ लाख रुपैयाँ छुट्याएको सार्वजनिक भएपछि बोर्ड विवादमा तानिएको हो । फिल्मकर्मीहरुले बोर्डको यो निर्णयप्रति आपत्ति जनाइरहेका छन् । नीति निर्माण गरेर फिल्म क्षेत्रका समस्या समाधान गर्न भूमिका खेल्नुपर्ने बोर्ड आफैँ फिल्म निर्माण गर्न तम्सिनु दुर्भाग्यपूर्ण रहेको फिल्मकर्मीको धारणा छ ।
अभिनेता कृष्ण मल्लले फिल्म बनाउने बोर्डको निर्णय नियम र सिद्धान्त विपरीत रहेको बताएका छन् । पत्रकार ध्रुव लम्सालले सर्वोत्कृष्ट फिल्मको अवार्ड लुकाउने बोर्डले आफैँ फिल्म बनाउन लाग्नुलाई बोर्डमा पञ्चायती व्यवस्था आएको भनेर टिप्पणी गरेका छन् । निर्देशक मनोज पण्डितले बोर्डले फिल्म बनाउने होइन भनेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘चलचित्र मैत्री नीति बनाएर संसदबाट पारित गरी लागु गर । प्रशासनिक सहजीकरण गरिदेऊ । नयाँ र प्रयोगधर्मी सिनेकर्मीलाई उत्प्रेरणा देऊ तर आफैँ सिनेमा बनाउँछु भन्ने निर्णय नगर ।’
समीक्षक तथा फिल्मका लेखक सामीप्यराज तिमल्सिनाले ‘सकाएरै छाड्ने भए’ भन्दै बोर्डको निर्णयप्रति आपत्ति जनाएका छन् ।सामाजिक संजालमा भुवनले आफ्नो छोरालाई खेलाउन बोर्डबाट फिल्म बनाएर खेलाउन लागेको भन्दै विभिन्न ब्याङ्ग्य गरेका छन् ।
Be the first to comment