अरिजितको पर्खाइमा नेपाल

बुटवल, १४ कात्तिक २०८०। वाद्यवादनका सामग्री भारतबाट आउँदैछ । २७ संगीतकर्मी नेपाल आउँदैछन् । कार्यक्रम गर्ने स्थल र मिति तय भइसक्यो- नोभेम्बर २५, हायत ग्राउन्ड । ५० प्रतिशत टिकट बिक्री भइसक्यो । ४ सय सुरक्षाकर्मी सुरक्षाका लागि तैनाथीको व्यवस्थापन छ । आगामी मंसिर ९ मा हुने ‘अरिजित सिंह लाइभ इन नेपाल’को अन्तिम तयारी हुन् यी ।भारतका लोकप्रिय गायक अरिजित नेपाल आउने भनेसँगै सबै उमेर समूहका दर्शकले यो कार्यक्रममा जोडिने इच्छा देखाइसके । ८ हजार टिकट बुकिङ त्यसको प्रमाण हो । अरिजितलाई नेपाल ल्याउने तयारीमा रहेका गराज इन्टरटेन्टमेन्ट र एमएन प्रोडक्सन नोभेम्बरलाई महोत्सवका रुपमा मनाउन चाहन्छन् ।

‘नेपालमा गायनको ठूलो इभेन्ट यही हुँदैछ । यसलाई हामीले महोत्सवका रुपमा आयोजना गर्ने तयारीमा छौं । यो कार्यक्रमसँगै अन्य कार्यक्रम पनि आयोजना गर्छौं । कलेजदेखि क्लबमा सांगेतिक प्रस्तुति आयोजना गर्दैछौं,’ गराजका रसिक भट्टराईले बताए । गराज र एमएनले नै मिलेर अरिजितलाई नेपाल ल्याउँदैछन् । हुन त यसअघि पनि अन्य समूहले अरिजितलाई नेपाल ल्याउने प्रयास नगरेका होइनन् । तर, ती प्रयास सफल भएनन् । तर, गराज र एमएन भने त्यसमा सफल भएका छन् । आखिर अरिजितलाई नेपाल ल्याउन यी दुई कम्पनी कसरी भयो त ?

कलाकार व्यवस्थापनमा सक्रिय गराज इन्टरटेन्टमेन्टले २/३ वर्ष अघि नै यस्तै ठूलो कार्यक्रम(इभेन्ट) गर्ने तय गरेको थियो । रोजाइमा गायक अरिजित सिंह परे । त्यसैले अरिजितको टिमसम्म पुग्न दौडधुप सुरु गरे । कति पटक मुम्बई पुगे । त्यसबीच अरिजितकै टिमले इभेन्ट म्यानेजमेन्ट कम्पनी एमएन प्रोडक्सनसँग सहकार्य गर्ने सल्लाह दियो । त्यतिबेला एमएन पनि अरिजितलाई नेपाल ल्याउने कसरतमा थियो । त्यसपछि यी दुई कम्पनीले अरिजितलाई नेपाल ल्याउन सहकार्य गर्‍यो । २/३ वर्षको कसरतपछि यी दुई कम्पनीले अरिजितलाई नेपाल ल्याउने तय गरेका हुन् ।

‘खासमा अरिजितलाई नेपाल ल्याउने सोचेरै लामो समय लागि पर्‍यो । उहाँहरुले बोलाउनु भएको ठाउँसम्म पुग्यौं । उहाँहरुले हामीलाई त्यसपछि विश्वास गर्नुभयो,’ रसिक सुनाउँछन् । अरिजितलाई कार्यक्रमका लागि मनाउन २ वर्ष लागेको उनी बताउँछन् ।

 

अरिजितले ३-४ घण्टाको प्रस्तुति दिने तयारी छ । अहिले कार्यक्रम आयोजक अरिजितको पर्खाइमा छ । १५ हजार दर्शक लक्षित यो कन्सर्टका लागि आफूहरुले खुबै मिहिनेत गर्नुपरेको एमएनका रिसब बताउँछन् । १५ हजार दर्शकका लागि कार्यक्रम गर्ने स्थलमा ट्वाइलेट निर्माण गर्नुपर्‍यो । ग्रीन रुमका लागि भ्यानिटी चाहिन्छ, त्यो छैन नेपालमा । विदेशबाट सामान ल्याउनुपरे अर्कै सास्ती छ । यस्ता चुनौतीबीच पनि आफूहरुले यस्तो स्तरको कार्यक्रम गर्ने तयारीमा रहेको रिसब बताउँछन् ।

‘अहिले नोभेम्बर-डिसेम्बरलाई महोत्सवका रुपमा मनाइँदै आएको छ । हामीले अब अरिजितको कार्यक्रम सफल बनायौं भने थुप्रै कलाकारका लागि ठाउँ खुल्नेछ,’ उनले भने । गराजका रसिक अब गौतम बुद्ध र सगरमाथा मात्र नभई मनोरञ्जनसाथै इभेन्ट टुरिजमले पनि पर्यटक बढाउने बताउँछन् । ‘ग्लोबल कलाकारलाई नेपाल ल्याउने हाम्रो उद्देश्य छ । यसरी विश्वस्तरका कलाकार ल्याउँदा विश्वभरका दर्शक नेपालमा आउँछन् । अहिले नै भारतबाट नेपाल आउन चाहने थुप्रै छन्,’ रसिक भन्छन्,’पाकिस्तान, बंगलादेशबाट अरिजितलाई सुन्न आउँदैछन् । उनीहरु अरिजितको कन्सर्ट मात्रै होइन त्यसपछि ट्रेकिङमा जाने योजनासहित आउँदैछन् । यसरी त पर्यटक भित्रिने भए नि ।’

यस्तो किसिमको कार्यक्रम गर्न नीति नै स्पष्ट नबनेको गराज र एमएनको अनुभव छ । ठूला कलाकारलाई नेपालमा ल्याएर कन्सर्ट गर्ने कार्यक्रमका लागि नीति नै नबनिसकेकाले आयोजकले धेरै दु:ख भोग्नुपरेको उनीहरु बताउँछन् ।

‘अरिजित सिंह लाइभ इन’मा तय भएको टिकट दर महंगो भएको धेरैले प्रतिक्रिया दिएका छन् । गराज र एमएनसँगको त्यसको जवाफ छ । ‘भारतमै हेर्ने हो पनि अरिजितको सोको ३-४ हजार छ । ३०/३५ हजार मानिस अट्ने स्टेडियममा गरिएको कार्यक्रमको टिकट नै त्यति छ । त्यही हिसाबले हेर्ने हो भने टिकट दर सामान्य नै हो । हामीले यस्तो खालको ठूलो इभेन्ट गर्न त्यस्तै प्रोडक्सन ल्याउनुपर्ने हुन्छ । त्यसको खर्च त धेरै छ नि,’ रिसब भन्छन् ।

उनी थप्छन्, ‘भन्ने हो भने यो टिकट दर त्यति महंगो होइन । तर नेपालमा यस्तो किसिमको इभेन्ट नै नहुने भएकाले त्यस्तो लाग्नु सामान्य हो । यो कन्सर्ट भन्दा पनि अनुभव हो । हामीले विश्वस्तरकै प्रोडक्सनमा कार्यक्रम गर्न सक्छौं भन्ने यो इभेन्टले देखाउँछ ।’

एमएनले यसअघि हनी सिंह, प्रतीक कुहद, रितभिजलाई नेपाल ल्याएको थियो । गराज केही विशेष इभेन्टबाहेक कलाकार व्यवस्थापनमै सक्रिय छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*