बुटवल, २१ कात्तिक २०८० । स्वास्थ्यमा सुधार आएपछि अभिनेता प्रकाश घिमिरेलाई आईसीयूबाट न्युरो वार्डमा सारिएको छ । गत साता पोखराको नदीपुरस्थित भीरबाट लडेर घाइते भएपछि उनको उपचार स्थानीय मणिपाल शिक्षण अस्पतालमा भइरहेको छ । वार्डमा सारिएपछि उनले भेट्न पुग्ने आफन्त र शुभचिन्तकसँग दोहोरो कुराकानी गर्न थालेका छन् । स्थानीय मिडियासँग कुरा गर्दै घिमिरेले चाँडै स्वास्थ्य लाभ गरेर काममा फर्किने आशा व्यक्त गरे ।अहिले छायांकनमा रहेको ‘महाजात्रा, डिग्री माइलासहितका काम गर्न बाँकी फिल्मको काम मंसिरसम्म पूरा हुने उनले बताएका छन् । डिग्री माइलाको छायांकन आधा सकिएको र मंसिरमा आफ्नो भागको सुटिङ सक्ने उनले बताएका छन् ।
अस्पतालमा भेट्न पुगेकासँग उनले फिल्म र नाटकबारे चिन्ता गर्ने गरेको जनाइएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि अभिनेता घिमिरेको स्वास्थ्यमा सुधार आएको बताएका छन् । शुक्रबार मेयरसँगको कुराकानीमा पनि उनले पोखरामा स्तरीय नाटक घर बनाउनुपर्ने चिन्ता जाहेर गरेको जनाइएको छ । यसैबीच, घिमिरेको स्वास्थ्यमा सुधार आए छायांकनको अन्त्यतिर उनको भाग सुटिङ गर्न सकिने ‘महाजात्रा’ले जनाएको छ । निर्देशक प्रदीप भट्टराईले आफूहरु घिमिरेकै स्वास्थ्यलाभको प्रतीक्षामा रहेको बताए ।
Be the first to comment