बुटवल, २०८० असोज ४ गते । अभिनेता गौरव पहारी र श्रेणी खतिवडाबीच बुधबार इन्गेजमेन्ट भएको छ । होटल र्याडिसनमा आयोजित समारोहमा उनीहरुबीच टिकाटालो भएको हो ।परिवार र निकट साथीहरुको उपस्थितीमा यी दुईले इन्गेजमेन्ट औंठी साटासाट गरे । आगामी माघमा उनीहरुबीच बिहे हुने तयारी छ । र्याडिसनको नेपा हलमा आयोजित समारोहमा उनीहरुलाई बधाइ दिन दुबै पक्षका परिवार, कलाकारहरु विल्सनविक्रम राई, निर्देशक उदय सुब्बा लगायत उपस्थित थिए ।
यी दुईजना तीनवर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइन्छ । श्रेणी पेशाले फिटनेस प्रशिक्षक हुन् । पाका अभिनेता टीका पहारीका छोरा गौरवले फिल्म ‘मञ्जरी’बाट अभिनयमा डेब्यु गरेका थिए ।गौरवले ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’, ‘साइँली’, ‘छक्का पञ्जा २’ लगायत दुुई दर्जन बढी फिल्ममा अभिनय गरेका छन् । उनले फिल्म ‘साइँली’मा लगानी पनि गरेका थिए । यसवर्ष उनले अभिनय गरेका फिल्महरु ‘नम्बरी सुन’ र ‘दुई कदम’ प्रदर्शनमा आउँदैछन् ।
Be the first to comment