बुटवल, १८ मंसिर २०८० । अनुमतिबिना प्रहरीको पोशाक प्रयोग गरेपछि गायक सुशान्त केसीले आइतबार बेलुका सार्वजनिक गरेको नयाँ म्युजिक भिडियो ‘झ्याल बाट’लाई युट्युबबाट हटाएका छन् । उनले एक भिडियो सन्देश जारी गर्दै अनुमतिबिना प्रहरीको पोशाक प्रयोग भएकोप्रति माफी मागेका छन् । उक्त गीतमा अभिनेत्री उपासना सिंह ठकुरीलाई नेपाल प्रहरीको पोशाकमा देख्न सकिन्छ ।
गीतको कथाअनुसार हिरासतमा परेका सुशान्तले महिला प्रहरीको भूमिकामा देखिएकी उपासनालाई जिस्काएको देखिन्छ । सुशान्तले यो भिडियोप्रति माफी माग्दै प्रहरीको पोशाक प्रयोग गरिएका केही दृश्यको पुनः छायांकन गरिने बताएका छन् ।
सुशान्त भन्छन्, ‘तपाईंहरु सबैलाई थाहा छ, हाम्रो भिडियोमा पुलिसको युनिफर्म प्रयोग भएको थियो । केही निश्चित दृश्यको लागि हामीले नेपाल पुलिसबाट अनुमति लिनुपर्ने भयो । त्यसैले अहिलेका लागि भिडियो हटाउनुपर्ने भयो । अब हामीले के गर्ने भनेर सोचिरहेका छौं टिमसँग बसेर । सुट गरिरहेका छौं । थप जानकारी दिने नै छौं ।’
तर यो भिडियो हटाउन प्रहरी वा अन्य कुनै निकायले दबाब दियो कि दिएन भन्नेबारे उनले खुलाएका छैनन् । भदौमा गायक प्रकाश सपुतले सार्वजनिक गरेको म्युजिक भिडियको एक दृश्य पनि विवादित बनेको थियो । त्यसबेला प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै कुनै पनि भिडियोमा नेपाल प्रहरीको पोशाक प्रयोग गर्नुपर्ने भए अनिवार्य रूपमा अनुमति लिन भनेको थियो ।
Be the first to comment