यौनकर्मीप्रतिको दृष्टिकोण र वास्तविकताको खाडल पुर्न ‘लालिमा’

बुटवल। २० वर्षदेखि यौनकर्मीसँग प्रत्यक्ष जोडिएर काम गरे पश्चात फिल्म ‘लालिमा’ बनेको निर्माण पक्षले दाबी गरेको छ ।हात्तिसारमा आयोजिक पत्रकार भेटघाट कार्यक्रममा लेखक तथा निर्देशक रोसन मिराजले यौनकर्मीहरूको अवस्था गहनरुपले डकुमेन्ट्रीमा देखाउन सम्भव नभएपछि कलाकार लिएर फिल्म बनाउने निर्णय लिएको बताए ।

उनले भने, ‘हामी पछिल्लो २० वर्षदेखि यौनकर्मीहरूसँग जोडिएर काम गरिरहेका छौं । डकुमेन्ट्री बनाउन खोज्दा परिचय खुल्ने डरले पर्दामा देखिन चाहनुभएन । फिल्म बनाउँछौं भन्दा आफ्नो अवस्था, समस्या र पीडाबारे खोल्न तयार हुनुभयो ।’यौनकर्मीप्रतिको दृष्टिकोण र उनीहरूको वास्तविकताको खाडल पुर्न ‘लालिमा’ निर्माण गरिएको उनले बताए ।विगत लामो समयदेखि निर्माण पक्षले यौनकर्मीसँग जोडिएर गरेको काम गरिरहेका कारण आफू यस फिल्ममा अनुबन्ध भएको नायिका उषा रजकले बताइन् ।

उनले भनिन्, ‘कसैको पीडालाई फिल्म बनाउने अधिकार कसैलाई छैन जस्तो मलाई लाग्छ । तर, यो टिमले २० वर्षदेखि यौनकर्मीसँग जोडिएर काम गरेको छ । उनीहरुको पीडामा साथ दिएको छ । उहाँहरूसँग तीन हजार यौनकर्मीको जोडिएर काम गरेको अनुभव छ । सोहीकारण उहाँहरूलाई यौनकर्मीको पीडाको कथा भन्ने अधिकार छ जस्तो लाग्यो । त्यही भएर म यो फिल्मको कलाकार बन्न तयार भएँ ।’

समस्या परेका यौनकर्मीको आवाज बनेर फिल्ममा देखिन पाउने अवसर गुमाउन नचाहेका ‘लालिमा’मा काम गरेको शीर्ष नायिका रोश्नी कार्कीले बताइन् ।उनले भनिन्, ‘समाजले यौनकर्मीहरूले मानवको दर्जासमेत दिएको छैन । यो फिल्मको प्रस्ताव आएपछि मैले उहाँहरूबाट बुझेको प्रमुख कुरा यही हो । उहाँहरू यो कर्ममा आउनुको कारण डरलाग्दो छ । उहाँहरूको आवाज बन्न म यो फिल्ममा जोडिएको हो ।’

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्ममा रोश्नी र उषासहित नायक जीवन भट्टराई, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्ष भूमिकामा छन् ।फागुन २९ बाट प्रदर्शनमा आउने यस फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*