बुटवल, भदौ १९ गते । कुनै समय एउटै सेड्युलमा ३/४ वटासम्म फिल्मको छायांकनमा व्यस्त रहने गरेका सुपरस्टार निखिल उप्रेती विगत ६/७ वर्षदेखि पर्दाबाट गयल छन् । यो अवधिमा उनले प्रस्ताव आएका धेरै फिल्म अस्वीकार गरे । बरु जीवन र जगतका बारेमा आफ्नो अर्थपूर्ण र तर्कपूर्ण अभिव्यक्तिका कारण उनी चर्चामा रहने गरेका छन् । जसले उनीप्रतिको बुझाई र दृष्टिकोणमा नै परिवर्तन ल्याएको छ ।
‘एक्सन स्टार’को रुपमा कहलिएका निखिल अब हलिउडको मार्भल स्टुडियोको फिल्मबाट प्रभावित भएर सुपरहिरो फिल्म बनाउने योजनामा छन् । एक पोडकास्टमा उनले संसारलाई देखाउन सुपरहिरो फिल्म बनाउन लागेको बताए । उनले भने, ‘म मार्भलबाट प्रभावित भएर फिल्म बनाउँदैछु । बजेट अवश्य पनि ठूलो लाग्छ । तर, नेपाली फिल्म भनेर बाहिरका लागि पनि देखाउन सकुँ न ।’
उनले फिल्मको नाम तय भैसकेको तर अहिले खुलाउन नमिल्ने बताएका छन् । फिल्मको सुपरहिरो नेपालीपन बोकेको हुने उनको भनाई छ । ‘हाम्रो फिल्म विश्वले हेरोस् भन्ने उद्देश्यले नै सुपरहिरो फिल्म बनाउन लागेका हौं,’ उनी भन्छन्, ‘हाम्रो सुपरहिरो कस्तो होला ? कति इनोसेन्ट होला ? ‘स्टाइडर म्यान’ जस्तो त पक्कै नहोला । आफूसँग पावर हुँदा पनि के काम गर्ने भनेर सोच्छ होला ।’
निखिलले सुपरहिरो फिल्ममा लगानी ठूलो लाग्ने हुँदा केही व्यक्तिसँग प्रस्ताव राखेको र केहीले प्रतिवद्धता जनाएको बताएका छन् । सुपरहिरो फिल्ममा आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)को सहयोग लिनेबारेमा पनि सोचिरहेको उनको भनाई छ । र, यसका लागि यतिबेला आफू टिम निर्माणको चरणमा रहेको उनले जानकारी गराए । फिल्मलाई आफैंले निर्देशन गर्ने उनले संकेत गरेका छन् ।
Be the first to comment