बुटवल, २१ कात्तिक २०८० । निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’लाई केन्द्रीय चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्रसहित प्रदर्शन अनुमति दिएको छ । बोर्डले फिल्मको रनटाइम २ घण्टा २९ मिनेट ३१ सेकेण्ड तय गरिदिएको छ । फिल्मको कदृश्य र संवादमा समितिले आपत्ति जनाएको छैन । निश्चलका अघिल्ला फिल्मका केही दृश्य र संवादमा बोर्डले आपत्ति जनाएको थियो । ६ वर्षपछिको पुनरागमनमा भने निश्चललाई समितिबाट राहत मिलेको छ । नेपाली फिल्मको औसत रनटाइमअनुसार ‘दिमाग खराब’को लम्बाइ केही लामो हो । रनटाइम साढे दुई भनिए पनि हलको ब्रेक जोड्दा दर्शकले तीन घण्टा हलमै बिताउनुपर्नेछ ।
खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको यो फिल्मले सर्वसाधारणले राजनीतिबाट खेप्नुपरेको हैरानी र संघर्षलाई चित्रण गर्छ । सिनेमा आर्टले निर्माण गरेको फिल्म आगामी शुक्रबार प्रदर्शन हुँदैछ । सोही दिनमा हलिउडको प्रतीक्षित सुपरहिरोइन फिल्म ‘द मार्वल्स’ पनि रिलिज हुँदैछ ।
‘लुट’को तेस्रो श्रृंखला बन्न लागेको हो ?
एक युट्युब पडकास्ट संवादमा निर्देशक बस्नेतले ‘लुट’को तेस्रो श्रृंखला निर्माणको संकेत गरे । तेस्रो सिक्वेलका लागि कथावस्तुमा दिमागमा फुरेको भन्दै निश्चलले अब त्यसलाई अघि बढाउने बताए । पैसा कमाइन्छ भनेर सिक्वेल नबनाउने उनको भनाइ छ ।
उनले भने, ‘मलाई ‘लुट ३’ बनाउनु चाहिं छ । तर अलि समय लिएरै गर्छु । एक-दुईटा कारण छ, जसले गर्दा मलाई सिक्वेल मात्र गरेर बस्न मन छैन । त्यो बनाएँ भने पैसा कमाइन्छ भन्ने सोचले बनाए आलु हुन्छ । पैसा मात्र कमाइन्छ भन्ने सोच भयो भने त जतिबेला बनाए पनि हुन्छ नि ।’
उनी अगाडि भन्छन्, ‘त्यो कथालाई यहाँ पुर्याउने मन छ भन्ने चाहिं लागिरहेकै छ । त्यसका लागि एउटा सानो चीज दुई-चार दिनअघि दिमागमा फुरेको छ । हेरौं त्यसलाई कसरी अगाडि लैजान सकिन्छ । चित्त बुझ्दो चीज नै अघि बढ्छ कि यो यति नै रहेछ भनेर थन्काइन्छ थाहा छैन ।’
Be the first to comment