‘म राजनीतिमा गएर केही योगदान दिन सक्छु भन्ने लाग्यो भने राजनीतिमा आउँछु : राजेश हमाल

बुटवल, २०८० साउन २१ गते। नेपाली फिल्ममा चार दशक विताइसकेका सुपरस्टार राजेश हमाल विगतमा झैं वर्तमान अवस्थामा अभिनयमा उत्ति सक्रिय छैनन् । तर, उनी अभिनयबाट टाढा पनि छैन । उनले ६ वर्षपछि फिल्म ‘मायाको माया’बाट कमब्याक गर्दैछन् । अब उनी राजनीतिमा आउने चर्चा चलिरहेको छ । विभिन्न नयाँ तथा पुराना राजनीतिक दलबाट उनलाई चुनाव लड्न बारम्बार प्रस्ताव पुगिरहेको हुन्छ ।

गएको स्थानीय निर्वाचनमा अभिनेता हमालले अर्को निर्वाचनसम्ममा आफू राजनीतिमा आउन सक्ने बताएका थिए । हालै एक टीभी अन्तर्वार्तामा पनि उनले राजनीतिमा आउन सक्ने संकेत गरेका छन् । राजनीतिमा आएको खण्डमा कला क्षेत्र पूर्ण रुपमा छाड्ने मनस्थितिमा उनी छन् । केही योगदान गर्न सकिन्छ भन्ने लागेको अवस्थामा मात्र राजनीतिमा आउने अभिनेता हमालको भनाई छ ।

उनी भन्छन्, ‘म राजनीतिमा गएर केही योगदान दिन सक्छु भन्ने लाग्यो भने राजनीतिमा आउँछु । यत्तिका वर्षसम्म फिल्ममा काम गरेँ, यो विन्दूमा पुगेँ अब नयाँ खुड्किलो के त भन्ने मनसायले चाहिँ म राजनीतिमा आउँदिनँ । मलाई मनदेखि केही न केही दिशा प्रदान गर्न सक्छु भन्ने सशक्त भावना आयो भने म इमानदारितापूर्वक राजनीतिमा लाग्न पनि सक्छु । कला क्षेत्र च्वाटै छोडेर पनि ।’

कुनै समय विवाहको प्रश्नले हैरान भएका हमाललाई विवाहपश्चात् बच्चाको प्रश्नले छाडेको छैन । उनले आफूहरु दुवैजनाको योजना नभएकाले पनि बच्चा नभएको स्पष्ट पारेका छन् । बच्चाको बारेमा उनी अन्तर्वार्तामा भन्छन्, ‘हामी दुवैजनाको योजना नभएर नै हो सन्तान नभएको चाहिँ । यत्तिका वर्षसम्म किन सन्तान भएन भन्ने विन्दूमा हामी दुवैजना छैनौं । र, यो हाम्रो व्यक्तिगत स्वतन्त्र हो ।’

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*