बुटवल, भदौ १९ गते । फिल्म रिलिजका लागि दशैं-तिहार जत्तिकै विशेष र महत्त्वपूर्ण मानिन्छ, नेपाली नयाँ वर्ष । ‘न्यू इयर मूड’ हुने भएकाले धेरैजसोको रोजाईमा फिल्म पर्छ । यसैले हरेक वर्षको नयाँ वर्षमा फिल्म रिलिज गर्न नेपाली निर्माताबीच राम्रै रस्साकस्सी हुन्छ । र, आगामी २०८१ को नयाँ वर्षमा पनि ठूलो भिडन्तको सम्भावना देखिएको छ । अहिलेसम्म नयाँ वर्षमा दुई फिल्म आउने तय भैसकेको छ ।रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ र ज्ञानेन्द्र देउजाको निर्देशनमा अहिले छायांकन भैरहेको फिल्म ‘उपहार’बीच आगामी नयाँ वर्षमा भिडन्त हुन लागेको हो । यद्यपि, दुवै फिल्मले यकिन मिति भने घोषणा गर्न बाँकी छ । यी दुईटै फिल्मले २०८१ को नयाँ वर्ष भनेर मात्र घोषणा गरेको अवस्था छ । तर, आगामी वर्षमा नयाँ वर्ष शनिबार परेको छ ।
‘उपहार’का वितरक करण श्रेष्ठले अहिलेसम्म फिल्मलाई बैशाख १ गते अर्थात् शनिबार नै प्रदर्शन गर्ने तयारी रहेको जानकारी गराए । उनले भने, ‘नयाँ वर्ष नेपाली फिल्मका लागि सधैं विशेष हुन्छ । तर, यसपटक शनिबार नयाँ वर्ष परेको छ । हाम्रो योजना चाहिँ बैशाख १ गते फिल्म लगाउने भन्ने छ । तर, अरु फिल्म चैत ३० गते आएको अवस्थामा हामी पनि एकदिन अगाडि आउन सक्छौं ।’‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, समर्पणजंग कार्की, शिशिर राणा, तेज गिरीलगायतको अभिनय छ भने ‘डिग्री माइला’मा दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहनेछ । स्टारकास्टको हिसाबले दुवै फिल्म बलियो देखिएका छन् । तर, अहिले देशमा २ सय बढी स्क्रिन (पर्दा) रहेकाले एकै मितिमा दुईवटासम्म नेपाली फिल्म सजिलै धान्न सक्ने अवस्था छ ।
Be the first to comment