बुटवल,असार ४ गते २०८०। अहिले आदिपुरुषको चर्चा चुलिएको छ। त्यसमाथी भारतीय फिल्म ‘आदिपुरुष’का पटकथा लेखक तथा गीतकार मनोज मुन्तशिरले नेपालको राष्ट्रियता र सीताको जन्मलाई लिएर विवादित बयान दिएपछि फिल्म झन्का तनावमा परेको छ। महानगरका प्रमुख बालेंनले सो फिल्म काठमान्डौमा बन्द गरेसंगै बुटवलको पहिलो हल संचालक तथा हल द्वारिकाहलका संचालक एबम निर्माता तथा चलचित्र संघका प्रदिप कुमार उदयले फिल्म आदिपुरुष आफ्नो हलमा प्रदर्शन गर्न रोक लगाएका छन। “हाम्रो देश नेपालको राष्ट्रियता, सार्बभौमसत्ता अखंड़ता र सहिष्णुताको बिरुद्ध निर्माण भएका त्यो खालको फिल्म लगाउने छुट नेपालमा छैन, त्यसैले म संलग्न रहेको क्षेत्रमा यो वान्छनीय छैन, त्यसैले सो फिल्म प्रदर्शनमा रोक लगाएको हु,” बुटवल स्थित द्वारिका सिनेमा हल संचालक प्रदिप कुमार उदयले बताए।
भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा फिल्म ‘आदिपुरुष’का पटकथा लेखक तथा गीतकार मनोज मुन्तशिरले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको बताएका हुन् । उनले यो कुरा नेपालीले बुझ्न नसकेको पनि बताए ।‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने विवादित डायलगलाई लिएर व्यापपक विरोध भइरहँदा लेखक मुन्तशिरले राष्ट्रको रुपमा नेपाल र भारत आज पनि अलग नरहेको तर्क गरे । उनले भनेका कुरा जस्ताको तस्तै : नेपालमा भैरहेको विरोधलाई मैले बुझ्न सकेको छैन । सीता भारतकी छोरी हुन् भन्ने कुरा गर्दा नेपाल भारतको हिस्सा थियो । सन् १९०३ वा ४ को कुरा हो, त्यसबेला नेपाल भारतबाट अलग भएको हो । भारत नै थियो नेपाल । यो हिसाबले त सीता भारतकै छोरी थिइन् । नेपालीको चिन्ता मैले यसकारण बुझ्न सकेको छैन । नेपाली त हाम्रा भाई नै हुन् । यो कुरा गर्दा जानकी भारतकी बेटी नै थिइन् । राष्ट्रको रुपमा नेपाल र भारत आज पनि अलग छैनन् । देशको रुपमा अलग भएपनि, सीमाहरु अलग भएपनि राष्ट्रियताको रुपमा यी दुई एउटै हुन् किनभने भारतीय राष्ट्रियताको आवाज नेपालसम्म सुनिन्छ ।
दिल्ली उच्च अदालतमा रिट दायर
प्रभास र कृति सेनन स्टारर यो फिल्मलाई प्रतिबन्ध लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा समेत निवेदन परेको छ । हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले रिट दायर गरेका हुन् । उनले फिल्मका धेरै दृश्य, संवाद र पात्र हटाउन माग गरेका छन् ।गुप्ताले निवेदनमा भनेका छन्, ‘फिल्ममा हाम्रा आराध्य देवताहरूलाई गलत रूपमा चित्रण गरिएको छ, जुन आपत्तिजनक छ । त्यसैले यस्तो फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्छ । अहिले काठमान्डौ लगायत नेपालको प्रुख शहरमा सो फिल्म प्रदर्शनमा रोक लगाइएको छ। फिल्म आफैमा खासै नराम्रो नबनेको र नेपाल प्रति समेत खडा उत्रेको भन्दै नेपाली दर्शक समेत निराश छन्।
Be the first to comment